लेबलमा त्रुटि भेटिएपछि ‘उत्सव’ ब्रान्डका ६२४ प्याकेट पाउरोटी बजारबाट फिर्ता गर्न निर्देशन
१४ माघ, काठमाडौं — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको कौशलटारस्थित चाहना पाउरोटी उद्योग प्रालिले उत्पादन गरेको ‘उत्सव’ ब्रान्डका ६ सय २४ प्याकेट पाउरोटी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
प्राप्त उजुरीका आधारमा विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम ११ माघमा उक्त उद्योगको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा उद्योगको सरसफाइ अवस्था सामान्य पाइए पनि उत्पादन गरिएको पाउरोटीको लेबलमा गम्भीर त्रुटि भेटिएको विभागले जनाएको छ।
अनुगमन क्रममा ‘उत्सव’ ब्रान्डको मिल्क ब्रेडको लेबलमा उत्पादन र उपभोग्य मिति गलत तरिकाले छापिएको पाइएको थियो। ब्रेडको प्याकेटमा उत्पादन मिति ‘२३.०२.२६’ र उपभोग्य मिति ‘०१.०२.२६’ उल्लेख गरी बिक्री वितरण भइरहेको फेला परेको विभागले जनाएको छ।
यस्तो त्रुटिपूर्ण प्रिन्टका कारण उपभोक्ता झुक्किन सक्ने र स्वास्थ्यमा समेत असर पर्न सक्ने देखिएपछि तत्काल कदम चालिएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन्।
विभागले लेबलमा त्रुटि देखिएका ‘उत्सव’ ब्रान्डका ६२४ प्याकेट पाउरोटी बजारबाट तत्काल फिर्ता ल्याई त्यसको आधिकारिक प्रमाणसहित विभागमा उपस्थित हुन उद्योगलाई निर्देशन दिएको छ।
साथै, उक्त पाउरोटीको गुणस्तर परीक्षणका लागि विभागले सर्भिलेन्स नमुना संकलन गरी प्रयोगशालामा पठाएको जनाएको छ।