निर्वाचन आयोगको निर्णयपछि देउवा पक्षद्वारा विघटित केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं — निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विघटित केन्द्रीय समिति बैठक बोलाएको छ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार बिहान ८ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका प्रदेश सभापतिहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।
निर्वाचन आयोगले शुक्रबार बेलुकी गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो। त्यसअघि खड्काले सानेपामा पत्रकार सम्मेलन गर्दै आयोगले आफूहरूलाई मान्यता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए।
नेपाली कांग्रेसको नियमित महाधिवेशन समयमै हुन नसकेपछि प्रतिनिधिहरूको ५४ प्रतिशत हस्ताक्षरका आधारमा भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिएको थियो। विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा चयन भएका छन् भने उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरूराज घिमिरे चयन भएका छन्। विशेष महाधिवेशनले १३ सदस्यीय पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।