कांग्रेसमा महाधिवेशन विवाद: कार्यसम्पादन समिति बैठक आज दिउँसो बस्दै
काठमाडौँ । नेपाली कांग्रेसमा नियमित महाधिवेशन स्थगनपछि पार्टीभित्र विवाद चर्किएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गरी महाधिवेशन स्थगित गरेपछि शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा कार्यसम्पादन समिति बैठक बोलाइएको छ।
बैठक अघि दुवै पक्ष आफ्नै रणनीति तय गर्न छलफलमा व्यस्त छन्। संस्थापन समूहले साढे १२ बजे ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा समूहका कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठक बोलाएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए। उनले भने, “कार्यसम्पादन समिति बैठकअघि हाम्रो समूहका नेताहरूले छलफल गर्दैछौँ।“
त्यसैगरी, नियमित महाधिवेशन स्थगन गर्ने निर्णय गरेका महामन्त्रीद्वय थापा र शर्माले पनि अगाडि बढ्ने रणनीति तय गर्न नेताहरूसँग छलफल गरिरहेका छन्।
सभापति शेरबहादुर देउवा भने विशेष महाधिवेशन गरियो भने पार्टी फुट्न सक्ने भन्दै आफ्नो निकटका नेताहरूलाई त्यसको विरोध गर्न निर्देशन दिइरहेका छन्।
अहिलेसम्म संस्थापन समूहको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महतसँग छलफल भइसकेको छ।