मकवानपुरको जुरीखेतमा जिप दुर्घटना, ७ जनाको अवस्था गम्भीर
हेटौंडा, २० पुस । काठमाडौं–हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा आइतबार साँझ जिप दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका–६ जुरीखेतमा ना १ ज १७७८ नम्बरको टाटासुमो जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेको हो ।
जिपमा ९ जना सवार रहेका थिए । दुर्घटनामा ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ बालक घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
बालक र बालिकाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले घटनास्थलबाट घाइते सबैलाई उद्धार गरी उपचारका लागि हेटौंडातर्फ पठाएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।