कमलविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–१० स्थित कमलविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटना बुधबार राति कमलविनायकबाट च्याम्हासिंहतर्फ आउँदै गरेको स्कुटरलाई विपरीत दिशाबाट जाँदै गरेको टिपरले ठक्कर दिँदा भएको हो।
प्रहरीका अनुसार बागमती प्रदेश–०२–०२० प ११६८ नम्बरको स्कुटरलाई प्रदेश–३–०१–००३ क ६२९१ नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय विमल बनमालाको उपचारका क्रममा मृत्यु भएको भक्तपुरका एसपी सूर्य खड्काले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार घटनास्थलमा सुरुमा बा.५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो। त्यसपछि सोही दिशाबाट आएको स्कुटर मोटरसाइकलसँग ठोक्किँदा टिपरले स्कुटरलाई ठक्कर दिएको खुलेको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर निवासी २४ वर्षीय राजेश बनमालाको भक्तपुर अस्पताल, दुधपाटीमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न तीनवटै सवारी साधन प्रहरी वृत्त जगातेमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।