कांग्रेस विशेष महाधिवेशन पक्षद्वारा संस्थापन पक्षलाई ८ बुँदे सहमति प्रस्ताव
काठमाडौँ ।नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ। आज विशेष महाधिवेशन पक्षले औपचारिक रूपमा उक्त प्रस्ताव संस्थापन पक्षसमक्ष पठाएको हो।
वार्ता समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार आज बिहान उक्त ८ बुँदे प्रस्ताव पठाइएको हो।
प्रस्तावमा निम्न बुँदाहरू समेटिएका छन् :
– कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
– विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
– प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै तय गरेर अघि बढ्नुपर्ने
– कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने
– टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
– निर्वाचन केन्द्रित गतिविधिका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
– उम्मेदवारको टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने
– विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्नुपर्ने
कांग्रेसभित्र बढ्दो आन्तरिक विवाद समाधानका लागि दुवै पक्षबीच वार्ता जारी रहेको र उक्त प्रस्तावलाई सहमतिका आधारका रूपमा अघि सारिएको विशेष महाधिवेशन पक्षले जनाएको छ।