माघ स्नान, स्वस्थानी व्रत तथा कथावाचन आजदेखि सुरु
काठमाडौं — आजदेखि वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत तथा स्वस्थानी कथा वाचन सुरु गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने यस धार्मिक अनुष्ठानअन्तर्गत देवी–देवताको पूजा आराधना गरिन्छ।
धार्मिक विश्वासअनुसार सतीदेवीका अङ्ग पतन भएका शक्तिपीठहरूमा विशेष पूजा गरिने परम्परा रहेको छ। यही विश्वासका आधारमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत र माघ स्नान गर्ने चलन रहिआएको हो।
स्वस्थानी व्रतको सुरुवात पौष शुक्ल चतुर्दशीका दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर गरिन्छ। ब्रतालुहरूले बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित महादेवको पूजा गर्छन् भने बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्य समेटिएको स्वस्थानी व्रत कथा वाचन तथा श्रवण गर्ने परम्परा छ। कुल परम्पराअनुसार कतिपयले बिहान र कतिपयले बेलुकी कथावाचन गर्ने गर्दछन्।
एक महिनासम्म व्रत बसेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, दीप, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई भगवतीलाई अर्घ दिइन्छ। चढाइएका प्रसादमध्ये प्रत्येक सामग्रीबाट आठ–आठ पति वा पति नभए छोरा, छोरा पनि नभए मीत छोरा र त्यसमेत नभए नजिकको पवित्र नदीमा बहाइने व्रत विधि रहेको छ।
ब्रतालुहरूले सय रोटी फलाहार गरी रातभर जाग्राम बसेर देवीको माहात्म्य सुन्ने–सुनाउने परम्परा पनि रहेको छ। यसरी विधिपूर्वक व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। ‘स्वस्थानी’ शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ।
उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त मानिने भएकाले आफ्नो आत्मासँग सम्पर्कको अभ्यासलाई स्वस्थानी व्रतसँग जोडिएको विश्वास पनि रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा सुवर्णवर्णकी, त्रिनेत्रधारी, चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवीलाई स्वस्थानी देवीका रूपमा वर्णन गरिएको छ।
स्वस्थानी व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याधि निको हुने तथा इच्छाएको जीवनसाथी प्राप्त हुने धार्मिक कथन प्रचलित छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति प्राप्त गर्न विष्णुको निर्देशनअनुसार स्वस्थानी व्रत गरेको कथा समेत स्वस्थानीमा उल्लेख छ।
इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिबाट सिकेको व्रतविधि अनुसार स्वस्थानी व्रत गर्दा पुत्र वियोगबाट मुक्ति पाएको र व्रतकै प्रभावले छोरा नवराज साँखु क्षेत्रका राजा बनेको कथा पनि स्वस्थानीमा वर्णित छ।
यसै अवसरमा आजदेखि काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भेगमा अवस्थित साँखुस्थित शालिनदीमा एक महिनासम्म चल्ने माधवनारायण मेला सुरु भएको छ। शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ।
शालिनदीमा माघ स्नान तथा माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन्।