चितवनमा निर्वाचन सुरक्षा कडा, इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह
चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हातहतियार बुझाउन सरोकारवाला सबैलाई आग्रह गरेको छ।
कार्यालयले एक सूचना जारी गर्दै व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनको अनुमति लिएर राखिएका हातहतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो निर्णय गरिएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मदन लामा थिङका अनुसार बुझाइएका हातहतियार आगामी चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिनेछ। तोकिएको समयभित्र हातहतियार नबुझाएमा वा आदेश अटेर गरेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनले चेतावनी दिएका छन्।
निर्वाचन नजिकिँदै गर्दा सम्भावित जोखिम न्यूनिकरण र शान्ति सुरक्षाको प्रत्याभूति गर्न प्रशासनले सबै नागरिकको सहयोग अपेक्षा गरेको छ।