कांग्रेसको नियमित महाधिवेशन स्थगित, अब विशेष महाधिवेशन मात्र विकल्प
काठमाडौं, १७ पुस
नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित भएको छ। पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी स्थगित गरिएको जानकारी दिएका हुन्।
महामन्त्रीद्वयका अनुसार मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले तय गरेको नियमित महाधिवेशनको कार्यतालिका पुस २६ गतेभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार अघि बढ्न नसकेपछि सम्पूर्ण कार्यतालिका निष्प्रभावी बनेको छ। यसबाट उत्पन्न अन्योल र अनिश्चितता अन्त्य गर्न विज्ञप्ति जारी गर्नुपरेको उनीहरूको भनाइ छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार हालसम्म ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भइसकेको छ। खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या ६ लाख नाघ्ने अनुमान गरिएको छ। यसैगरी, १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भइसकेको र अन्य जिल्लाबाट समेत प्रक्रिया जारी रहेको जनाइएको छ।
नियमित महाधिवेशन स्थगित भए पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको कार्य निरन्तर जारी राख्न सबै तहलाई निर्देशन दिइएको छ।
यता, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने वैधानिक दायित्व पार्टी नेतृत्वको रहेको विज्ञप्तिमा उल्लेख छ। नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था बनेपछि अब विशेष महाधिवेशन नै प्राथमिक विकल्पका रूपमा अघि आएको महामन्त्रीद्वयले स्पष्ट पारेका छन्।
पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाइने र सम्भव भएसम्म सर्वसम्मतिका आधारमा निर्णय गरिने उनीहरूको भनाइ छ।