तापमान वृद्धिले मस्तिष्क खाने अमिबा विश्वव्यापी खतरा
काठमाडौँ — विश्वव्यापी तापमान वृद्धिका कारण मस्तिष्क खाने अमिबा ‘नेग्लेरिया फाउलेरी’ विश्वव्यापी स्वास्थ्य खतराको रूपमा देखा पर्न थालेको छ। बायोकन्टामिनेन्ट जर्नलमा प्रकाशित अध्ययनका अनुसार जलवायु परिवर्तन र पुराना पानीका पाइपलाइनहरूले यस घातक रोगको फैलावट बढाइरहेको छ।
मस्तिष्क खाने अमिबा नाकबाट शरीरमा प्रवेश गरी मस्तिष्कमा सङ्क्रमण गर्न सक्छ। सङ्क्रमणको दर कम भए पनि मृत्यु दर अत्यधिक उच्च छ। अमिबा तातो पानीमा फस्टाउने भएकाले ताल, नदी र जलाशय न्यानो हुँदा यसको विस्तारको वातावरण अनुकूल बन्दै गएको छ।
अध्ययनले पुराना पाइपलाइनमा पानी जम्नु र क्लोरीनजस्ता साधारण निःसंक्रमण विधि अमिबामा कम असर पार्नु पनि समस्याको मुख्य कारण भएको देखाएको छ। वैज्ञानिकहरूले आधुनिक जल प्रणाली सुधार, पानीको नियमित परीक्षण र जलवायु परिवर्तन रोक्न ठोस कदम आवश्यक रहेको चेतावनी दिएका छन्।