निर्वाचन आयोगद्वारा समानुपातिक बन्दसूचीको रुजु सम्पन्न
२० पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ।
आयोगका तथ्यांक शाखा निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूले बुझाएका बन्दसूचीका कागजातहरूको जाँच गरिएको हो। रुजुका क्रममा देखिएका कागजात नपुगेका, उमेर नपुगेका लगायतका त्रुटिहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले बताए।
आयोगले पुस २१ गतेदेखि २७ गतेसम्म दलहरूलाई ती त्रुटि सच्याएर पुनः बन्दसूची पेश गर्ने समय दिएको छ। सो अवधिमा दलहरूले आवश्यक सुधार गरी सूची पेश गरेपछि पुस २७ गते अन्तिम बन्दसूची तय गरिनेछ।
समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले पुस २८ गते उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। उम्मेदवारको नाम फिर्ता भएपछि खाली स्थानमा दलहरूले नयाँ उम्मेदवार सिफारिस गर्न सक्नेछन्।
दलबाट प्राप्त अन्तिम विवरणका आधारमा तयार हुने अन्तिम बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गर्ने जनाएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची आयोगमा पेश गरेका थिए।