मुस्ताङ र मनाङमा एकैसाथ दुलर्भ हिउँचितुवाको सर्वेक्षण सुरु
१९ पुस, मुस्ताङ — मुस्ताङ र मनाङ जिल्लामा दुलर्भ हिउँचितुवाको वास्तविक सङ्ख्या पत्ता लगाउन एकैसाथ वैज्ञानिक सर्वेक्षण सुरु गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङमा एक्याप लोमान्थाङ र एक्याप जोमसोम तथा मनाङमा एक्याप मनाङले संयुक्त रूपमा सर्वेक्षण थालेका हुन्।
यसअघि एक्याप तथा हिउँचितुवा अध्ययन–अनुसन्धानमा संलग्न संस्थाहरूले सम्भावित बासस्थानमा सीमित सङ्ख्यामा मात्र क्यामेरा ट्रयापिङ गर्दै आएका कारण मुस्ताङ र मनाङमा हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लाग्न सकेको थिएन। यस वर्ष भने दुवै जिल्लामा व्यापक रूपमा क्यामेरा ट्रयापिङमार्फत सर्वेक्षण भइरहेको छ।
एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार हिउँयाम हिउँचितुवा सर्वेक्षणका लागि उपयुक्त समय हो। हिउँदमा करिब चार हजार मिटरभन्दा माथि हिउँ परेपछि घाँस अभाव हुने र हिउँचितुवाका आहारा प्रजाति तल्लो क्षेत्रमा झर्ने भएकाले तिनको गतिविधि अध्ययन गर्न सजिलो हुने उनले बताए।
उनका अनुसार मुस्ताङका १६१ ग्रीडमध्ये चार वटा पालिकामा १३० वटाभन्दा बढी क्यामेरा ट्रयापिङ गरिनेछ। हिउँचितुवाको बासस्थान र आवतजावत हुने उच्च लेङ्कमा एक्यापका प्राविधिक र स्थानीयवासी परिचालन गरिएको छ। एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न क्षेत्रमा ९९ वटाभन्दा बढी क्यामेरा जडान गर्ने योजना बनाएको छ।
यस्तै, एक्याप जोमसोमले मुस्ताङ–डोल्पा सीमावर्ती साङ्ता आसपासका क्षेत्रमा सात वटा क्यामेरा जडान गरिसकेको जनाएको छ। यसअघि मार्फा, चिमाङ, ठिनी, झोङ र छेङ्गुर क्षेत्रका लेङ्कमा बायोकोस नेपाल र एक्यापले १६ वटा क्यामेरा राखिसकेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए। उनका अनुसार सर्वेक्षण हिउँचितुवाको सङ्ख्या र आहारा प्रजातिको अवस्थाको अध्ययनका लागि केन्द्रित छ।
मनाङमा पनि गत अगस्टको दोस्रो सातादेखि हिउँचितुवाको सर्वेक्षण सुरु भइसकेको एक्याप मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले बताए। उनका अनुसार हालसम्म १२९ वटा क्यामेरा ट्रयापिङ गरिएको छ र जडान गरिएका क्यामेराको नियमित निगरानी भइरहेको छ।
“मनाङका चारवटै पालिकामा हिउँचितुवाको बासस्थान क्षेत्रमा क्यामेरा ट्रयापिङ सम्पन्न भइसकेको छ, आवश्यक ठाउँमा थप क्यामेरा पनि राखिएका छन्,” भुजेलले भने। उनका अनुसार २२ वटा क्यामेरा हिमाली ब्वाँसोको अध्ययनका लागि र बाँकी १०७ वटा हिउँचितुवा तथा चितुवाको अध्ययनका लागि प्रयोग गरिएको छ।
मुस्ताङ र मनाङमा जडान गरिएका क्यामेरा करिब छ महिनासम्म फिल्डमै रहनेछन्। त्यसपछि क्यामेरा संकलन गरी प्राप्त तथ्याङ्कको विश्लेषणमार्फत हिउँचितुवाको सङ्ख्या र अवस्था यकिन गरिने एक्यापले जनाएको छ।