थप ३० नयाँ प्रजातिका चरा फेला, गुल्मीमा चराको संख्या ३५५ पुग्यो
गुल्मी — गुल्मी जिल्लामा थप ३० नयाँ प्रजातिका चरा फेला परेसँगै हालसम्म जिल्लामा अभिलेख गरिएका चराको संख्या ३५५ पुगेको छ। नेपाल पन्छी संरक्षण सङ्घले हालै जिल्लाका विभिन्न वन संरक्षण क्षेत्रमा गरेको चरा गणनाका क्रममा नयाँ प्रजातिका चराहरू फेला परेका हुन्।
नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईका अनुसार जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा यी नयाँ प्रजाति पहिचान गरिएको हो। सर्वेक्षणमा रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा नयाँ २५ प्रजातिका चरा अभिलेख भएका छन्।
यसअघि रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिँदै आएको भए पनि यसपटक पहिलो पटक थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा समेत चरा सर्वेक्षण गरिएको भट्टराईले जानकारी दिए।
नयाँ फेला परेका चरा प्रजातिहरूमा तिलहरी, मोटो ठुँडे पुष्पकोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपङ्ख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेका छन्।
विश्वमै दुर्लभ मानिने चरामध्ये गुल्मीमा छ प्रजातिका चरा पाइने नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ। तीमध्ये रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो महाचिल पाइन्छन्। साथै काँडे भ्याकुर रेसुङ्गा, मदाने र थाप्ले सत्यवती तीनै वन संरक्षण क्षेत्रमा रेकर्ड गरिएको छ।
नेपालमा पाइने कुल ९०३ प्रजातिका चरामध्ये करिब ४० प्रतिशत चरा गुल्मीमा भेटिएको सङ्घले जनाएको छ। विभिन्न समयका सर्वेक्षणअनुसार रेसुङ्गा वन क्षेत्रमा २७६, मदाने वन संरक्षण क्षेत्रमा २८९ र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा १९६ प्रजातिका चरा अभिलेख भएका छन्।
तीन वटै वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्वेक्षणअनुसार जिल्लामा जम्मा ३५५ प्रजातिका चराको तथ्याङ्क संकलन गरिएको छ।
नेपाल पन्छी संरक्षण सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन तथा जैविक विविधताको संरक्षणसँगै जीविकोपार्जनमा टेवा पुग्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मीमा चरा पर्यटन (बर्ड वाचिङ) को प्रचुर सम्भावना रहेको बताउँदै यसले स्थानीय आर्थिक विकासमा योगदान पुर्याउन सक्ने धारणा व्यक्त गरे।