गगन थापा समूहलाई आधिकारिकता दिने निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत जाने
काठमाडौं, ४ माघ
नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए। “हामी आज रिट लिएर जाने तयारीमा छौं,” उनले भने।
देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक तथा कानुनी दुवै रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। बैठकले कानुनी प्रक्रियाको जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको थियो।
खड्का हाल रिट निवेदन तयार पार्ने विषयमा कानुन व्यवसायीहरूसँग छलफलमा छन्। स्रोतका अनुसार वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतका कानुनविद्हरूले उनलाई सहयोग गरिरहेका छन्।
यसअघि गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। उक्त महाधिवेशनबाट गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भएका छन्।
तर देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकिएको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नरहेको दाबी गर्दै त्यसलाई अस्वीकार गर्दै आएको छ। यही विवादका कारण कांग्रेसभित्रको आन्तरिक द्वन्द्व थप चर्किने संकेत देखिएको छ।