सभापति थापा भन्छन्– कांग्रेसजनको शिर निहुरिन दिने छैन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
विशेष महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि बुधबार महाधिवेशनस्थलमा आयोजित कार्यक्रममा नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली कांग्रेसलाई पार्टी सदस्यले गौरव गर्न सक्ने संगठन बनाउने दृढता व्यक्त गरे।
“जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरूमध्ये कसैको पनि शिर निहुरिने अवस्था आउन दिने छैन,” उनले भने, “नेपाली कांग्रेस पार्टीको शान राख्छु। पार्टीमा लागेका सबै साथीहरूले नेपाली कांग्रेस भएकोमा गर्व गर्ने अवस्था बनाउँछु। नागरिक अप्ठ्यारोमा पर्दा ‘कांग्रेस छ’ भन्ने अनुभूति दिलाउने काम पार्टीले गर्नेछ।”
सभापति थापाले नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहास मात्र नभई आधुनिक नेपालको राजनीतिक इतिहासमै भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको दाबी गरे। उनले भुइँ तहका कार्यकर्तालाई जनताको प्रतिनिधि र नागरिकको प्रत्यक्ष अभिव्यक्ति भएको उल्लेख गर्दै दलभित्र नागरिकको हस्तक्षेपका रूपमा विशेष महाधिवेशनलाई व्याख्या गरे।
उनले नेपाली कांग्रेस कुनै हालतमा नफुटेको स्पष्ट पार्दै वैधानिक रूपमा सम्पन्न विशेष महाधिवेशनका कारण पार्टी फुट्यो भन्ने प्रश्न नै नउठ्ने बताए।