रौतहटमा १५२ मतदानस्थल अतिसंवेदनशील, फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन
चन्द्रपुर (रौतहट), ४ माघ
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले रौतहट जिल्लाका २७७ मतदानस्थलमध्ये १५२ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखेको छ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार सुरक्षाका दृष्टिकोणले विभिन्न स्थानीय तहमा रहेका मतदानस्थललाई वर्गीकरण गरिएको हो। उनका अनुसार १०० मतदानस्थल संवेदनशील सूचीमा छन् भने बाँकी २५ मतदानस्थल सामान्य सूचीमा राखिएका छन्।
रौतहट निर्वाचन क्षेत्र नं १ मा ६७, क्षेत्र नं २ मा ७२, क्षेत्र नं ३ मा ७७ र क्षेत्र नं ४ मा ६१ मतदानस्थल रहेका छन्।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार आगामी निर्वाचनका लागि जिल्लाभर ५४१ मतदान केन्द्र कायम गरिएको छ। विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २७६ मतदानस्थल रहेकामा यस वर्ष एक मतदानस्थल थप गरिएको हो। गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थप गरिएको कार्यालयले जनाएको छ।
यस वर्षको निर्वाचनमा रौतहटमा २१ हजार १५६ मतदाता थपिएका छन्। हाल जिल्लामा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्। विसं २०७९ को निर्वाचनमा मतदाताको संख्या ४ लाख १५ हजार ४५५ थियो।
दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहट जिल्लामा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षा निकायले आवश्यक तयारी तीव्र पारेका छन्।