देशका विभिन्न जिल्लामा सवारी दुर्घटना, सात जनाको मृत्यु
काठमाडौँ । बुधबार साँझ र राति देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। सिराहा, धनुषा, महोत्तरी, सुर्खेत, चितवन र भक्तपुरमा भएका दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ। अधिकांश दुर्घटना तीव्र गति र सवारी साधन अनियन्त्रित हुँदा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सिराहाको धनगढीमाई नगरपालिका–९ मुसहरनियामा म.प्र ०१–००४ प ३६०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ५० वर्षीय रतन यादवको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पताल मुसहरनियामा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै धनुषाको धनुषाधाम नगरपालिका–२ धमउरा पोखरीस्थित सडकमा ज.९ प ४००३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा चालक मिथिला बिहारी नगरपालिका–६ का २० वर्षीय अमृत कुमार महरा र पछाडि सवार जनकपुर उपमहानगरपालिका–१४ का ३५ वर्षीय राकेश कुमार महरा रहेका छन्। दुवैको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित शुभ स्वास्तिक अस्पताल अगाडि बा.प्र.०२–०१९ प ३१०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय शैलेस मगरको मृत्यु भएको छ। सो दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।
चितवनको भरतपुर महानगरपालिका–१४ राधापुरमा बा.प्र.०६–००६ प ७७१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४० वर्षीय विनोद सुवेदीको मृत्यु भएको छ। उनको सरकारी अस्पताल भरतपुरमा उपचारका क्रममा ज्यान गएको हो।
भक्तपुरको कमलविनायक बसपार्कमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–८ का २६ वर्षीय विमल वनमालाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही क्रममा बा.५५ प १७४५ नम्बरको मोटरसाइकल पनि दुर्घटनामा परेको थियो भने मोटरसाइकल चालक घाइते भएका छन्।
उता कर्णाली प्रदेशको सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–९ तल्लो बिजुमा भे.१ ह ३९८० नम्बरको अटोबाट खसेर ६२ वर्षीया आईते थापाको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले भक्तपुरमा टिपर चालक र सुर्खेतमा अटो चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। सबै दुर्घटनाका घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।