आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटः पहिलो खेलमा नेपालले टस हार्यो
काठमाडौं, ४ माघ
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ।
थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेकी हुन्। यससँगै नेपालले निर्धारित ओभरमा पहिला ब्याटिङ गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्डसँगै नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणका खेलपछि शीर्ष तीन स्थानमा पर्न सफल टोलीहरू सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।
सुपर सिक्सबाट शीर्ष चार स्थानमा रहने टोलीले आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउने प्रावधान रहेको छ।
घरेलु मैदानमा आयोजना भइरहेको यस छनोट प्रतियोगितामा नेपाललाई पहिलोपटक महिला टी–२० विश्वकपमा छनोट हुने ऐतिहासिक अवसर रहेको छ। प्रतियोगितालाई नेपालले आफ्नो पक्षमा पार्न सक्ने अपेक्षा गरिएको छ।