कांग्रेस विशेष महाधिवेशन पक्षधरले पुस २७–२८ मा सम्मेलन गर्न माग
काठमाडौँ, १८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न माग गरेका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता देवराज चालिसेले नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनबाहेक पार्टीसामु विकल्प बाँकी नरहेको बताएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारी गरिरहेका छन्। त्यसका लागि काठमाडौंको भृकुटीमण्डपको हल बुक गरिसकेको समेत नेताहरूले बताएका छन्।
पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, *“हामीलाई विश्वास छ– पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्नेछ।”*
विशेष महाधिवेशनको माग जेनजी आन्दोलनपछिका बदलिएका परिस्थितिमा वर्तमान नीति र नेतृत्वमा आगामी निर्वाचनमा अघि बढ्न नसकिने आधारमा उठाइएको हो।