विद्यालय तहका पाठ्यपुस्तकमा बिमा शिक्षा समावेश गर्ने विषयमा छलफल
काठमाडौं — नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा समावेश गरिने बिमा शिक्षासम्बन्धी विषयवस्तुका बारेमा सरोकारवाला निकायसँग छलफल गरेको छ।
प्राधिकरणको केन्द्रीय कार्यालयमा आज आयोजित छलफल कार्यक्रममा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले विद्यालय तहदेखि नै पाठ्यपुस्तकमा बिमाको आवश्यकता र महत्त्व समावेश गरी यसलाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्नु आवश्यक रहेको बताए।
“बिमाका बारेमा सानैदेखि सचेतना आवश्यक छ। मानव जीवन र सम्पत्तिको वित्तीय सुरक्षा बिमाले गर्छ,” उनले भने, “बिमामार्फत जीवनलाई सहज रूपमा अघि बढाउन सकिन्छ भन्ने जानकारीले बिमाको दायरा विस्तार हुने, लागत घट्ने, जोखिम न्यूनीकरण हुने र समग्रमा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यार्थीले विद्यालय तहबाटै बिमाको अवधारणा बुझून् र अध्ययनपछि अरूलाई पनि यसको महत्त्व बुझाउन सकून् भन्ने उद्देश्यले पाठ्यपुस्तकमा बिमा शिक्षा समावेश गर्नुपर्ने धारणा राखे।
त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक तथा सामाजिक अध्ययन विषय समितिका अध्यक्ष प्राडा रामकृष्ण तिवारीले सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन र प्रश्नपत्र तयारीका क्रममा बिमासम्बन्धी विषयवस्तु समेट्न सम्बन्धित पदाधिकारी, विषय विज्ञ र लेखकलाई आग्रह गरे।
विद्यालय तहको अनिवार्य विषय सामाजिक अध्ययनको पाठ्यपुस्तक परिमार्जन तथा पुनर्लेखनका क्रममा बिमा शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्ने विषयमा ठोस निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ।
कार्यक्रममा कक्षा ४ देखि १२ सम्मका प्रस्तावित पाठ्यक्रममा बिमा शिक्षासम्बन्धी सम्भावित विषयवस्तुमाथि विस्तृत छलफल भएको थियो।