एमालेले राष्ट्रिय सभाका ७ सिटमा दाबी, उम्मेदवार टुंगो लाग्न बाँकी
२२ पुस, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको ७ वटा सिटमा आफ्नो दाबी गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशमा १/१ जना रहनेगरी ७ वटा सिटमा आफूहरूको दाबी रहेको जानकारी गराए ।
यद्यपि क्लस्टर अनुसार उम्मेदवारहरू टुंगो लगाउने काम भने बाँकी रहेको उनले बताए ।
उनका अनुसार, कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गरेर उम्मेदवार टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेले कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने भएको हो ।
‘हरेक प्रदेशमा १ जना पर्नेगरी ७ जनाको हामीले भनेका छौं । तर टुंगो के लागेको छैन,’ उनले भने, ‘कुन प्रदेशमा महिला कसले लिने भन्नेबारे टुंगो लागिसकेको छैन । अध्यक्षले टुंगो लगाएर को को व्यक्तिलाई दिने भन्नेगरी उहाँले नै निर्णय गर्ने अधिकार दिने निर्णय भएको छ ।’
त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर बाँकी नाम टुंगो लाग्ने उनले बताए ।
‘कसले कति पाउने भन्ने बाँडफाँड भएको छ । तर क्लस्टर कसलाई कहाँ पर्छ भन्ने कुरा अझै टुंगो नलागेको हुनाले नेपाली कांग्रेसका सभापतिले हाम्रो अध्यक्षसँग छलफल गरेर टुंगो लगाउने भन्ने भएको छ,’ उनले भने, ‘अहिले राष्ट्रिय सभामा सँगै जाने भन्ने सहमति भएको छ ।’