कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, आन्तरिक विवाद समाधानमा छलफल
काठमाडौं, ३ माघ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच आज महाराजगञ्जस्थित देउवा निवासमा भेटवार्ता भएको छ। भेटवार्तामा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी थिए।
कांग्रेस महामन्त्री गुरुराज घिमिरेका अनुसार यो शिष्टाचार भेटवार्ता थियो। थापाले भने, “सभापतिले निवर्तमान सभापतिलाई भेट्नु सामान्य कुरा हो। भेटमा पार्टीको सुदृढीकरण र आन्तरिक विवाद समाधानका विषयमा छलफल भयो।”
स्रोतका अनुसार, नयाँ सभापति थापाले देउवालाई पार्टीको आन्तरिक विवाद समाधान गरेर फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए।
निर्वाचन आयोगले शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि कानुनीरूपमै थापा सभापति बनेका हुन्। तर देउवा समूहले आयोगको निर्णय नमान्ने निर्णय गरिसकेको छ र आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारीमा रहेको बताइएको छ।