लुम्बिनी प्रदेशसभामा दुई विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न
लुम्बिनी — लुम्बिनी प्रदेशसभामा प्रस्तुत दुई वटा विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिएको छ।
प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेस्रो बैठकमा दलित अधिकारसम्बन्धी विधेयक तथा जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सम्पन्न भएको हो।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलित अधिकारसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मन्त्री तिमिल्सिनाले दिएका थिए। उक्त छलफलमा प्रदेशसभा सदस्य इन्द्रजित थारु, लोककुमारी विश्वकर्मा र विष्णु पन्थीले धारणा राखेका थिए।
यसैगरी, स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्यमन्त्री सारुले जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गरेका थिए।
त्यसैगरी, महालेखा परीक्षकको प्रतिवेदन २०८२, मुस्लिम आयोगको प्रतिवेदन तथा मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पनि सभामा पेस गरिएको छ।
आजको बैठकमा प्रदेशसभा सदस्य यमबहादुर सार्की, रत्नबहादुर खत्री, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, इन्द्रजित थारु र भोजप्रसाद श्रेष्ठले समसामयिक विषयमा धारणा राखेका थिए।
प्रदेशसभाको अर्को बैठक माघ २० गते बस्नेछ।