म्यानमारमा नेपालीलाई साइबर दास बनाएको घटनामा पाँच जनाविरुद्ध मुद्दा
काठमाडौं, २२ पुस — आईटीको आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली नागरिकलाई म्यानमार पुर्याई साइबर स्क्यामिङमा जबर्जस्ती लगाएको घटनामा पाँच जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दायर गरिएको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। प्रतिवादीमध्ये दुई जना पक्राउ परिसकेका छन् भने तीन जना फरार रहेका छन्।
पक्राउ पर्नेहरूमा सर्लाही भर्दोल गाउँपालिका–९ का २४ वर्षीय रञ्जितकुमार महतो र खोटाङका ४१ वर्षीय मणिराज राई छन्। फरार प्रतिवादीमा सर्लाहीकै राजनारायण महतो, रामेछापका हेमबहादुर श्रेष्ठ र धनकुटाका राजेश शर्मा भनिने भीमबहादुर गिरी रहेका छन्।
ब्यूरोका अनुसार दुई फरक जाहेरीका आधारमा मुद्दा दायर भए पनि सबैको कसुर एउटै प्रकृतिको रहेको छ। उनीहरूले नेपाली नागरिकलाई थाइल्यान्डमा आईटीको काम दिने भन्दै म्यानमार लगेर बन्धक बनाई अनलाइन स्क्यामिङमा प्रयोग गरेको आरोप छ।
पछिल्लो समय म्यानमारमा बन्धक बनाई ‘साइबर स्लेभ’ का रूपमा प्रयोग गरिएका ४७ जना नेपाली नागरिकको उद्धार गरी २३ मंसिरमा काठमाडौं ल्याइएको थियो। उद्धार गरिएकामध्ये दुई जनाले ब्यूरोमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा मुद्दा दायर गरिएको एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।
अनुसन्धानका क्रममा म्यानमारको मेवाडी क्षेत्रमा चिनियाँ गिरोहले क्याम्प खडा गरी नेपालीहरूलाई अनलाइन ठगीमा प्रयोग गरिरहेको खुलेको छ। उक्त क्षेत्र म्यानमार सरकारको समेत प्रभावबाहिर रहेको बताइन्छ। गिरोहले मुख्यतया ह्वाट्सएपमार्फत विदेशी नागरिकलाई सम्पर्क गरी फिसिङ, बिटक्वाइन कारोबार र नक्कली प्रेम सम्बन्धमार्फत ठगी गराउने गरेको पाइएको छ।
पीडितका अनुसार नेपालबाट भारत र थाइल्यान्ड हुँदै म्यानमार पुर्याइने, त्यहाँ पुगेपछि मोबाइल र पासपोर्ट नियन्त्रणमा लिइने तथा अवैध काममा नमाने शारीरिक तथा मानसिक यातना दिइने गरिएको थियो। नेपाल फर्किन चाहेमा रकम माग्ने वा अरू नेपाली ल्याएपछि मात्र छाड्ने प्रवृत्ति समेत देखिएको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना भएयता म्यानमारबाट १०७ जना नेपालीको उद्धार भइसकेको छ, जसमा १०३ पुरुष र ४ महिला रहेका छन्। सबैलाई चिनियाँ गिरोहले थाइल्यान्डमा रोजगारी दिने भन्दै फसाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।