त्रिवि विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा तोडफोड
३० पुस, काठमाडौं — त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा तोडफोड भएको छ।
डिन शंकर खनालको कार्यकक्षसहित डिन कार्यालयमा तोडफोड गरिएको हो। कार्यालयभित्र रहेका कुर्सी, टेबल र गमलालगायत सामग्री फुटाइएको एक कर्मचारीले जानकारी दिए।
उनका अनुसार बीएससी कार्यक्रमको पुनः प्रवेश परीक्षा माग गर्दै आएका विद्यार्थीको एक समूहले तोडफोड गरेको हो। “पुनः प्रवेश परीक्षा हुनुपर्यो भनेर अस्कलबाट विद्यार्थी आएका थिए। उनीहरूमध्ये केही अस्कल स्ववियुका पनि थिए,” ती कर्मचारीले भने, “तर संलग्न विद्यार्थीहरूको नाम पहिचान हुन सकेको छैन।”
घटनापछि प्रहरी वृत्त कीर्तिपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। तर तोडफोडमा संलग्नहरू फरार रहेकाले अहिलेसम्म कसैलाई नियन्त्रणमा लिन सकिएको छैन।
डिन कार्यालयका अनुसार बीएससी कार्यक्रमका लागि तोकिएको सिट संख्या पूरा भइसकेकाले पुनः प्रवेश परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ।