सर्लाहीमा वन चौकीदारको शव टाउको अलग अवस्थामा फेला
१९ पुस, जनकपुरधाम — सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा कार्यरत वन चौकीदार रामईश्वर महतोको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ।
सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार ४७ वर्षीय महतो ज्यालादारीमा कार्यरत थिए। उनका शव घरदेखि करिब ५ सय मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र भेटिएको हो।
स्थानीयका अनुसार आज बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि त्यसतर्फ पुगेका थिए। दिउँसोसम्म महतो घर नफर्किएपछि परिवार र स्थानीयले खोजी थालेका थिए।
डीएसपी राईले बताएअनुसार घटनास्थलमा शवको मुचुल्का भइरहेको छ र टाउको अझै फेला परेको छैन। खोजी कार्य जारी छ।
साँझ प्रहरीले धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर ल्याएर घटनास्थलमा अनुसन्धान सुरु गरेको छ।