निर्वाचन आयोगको निर्णयपछि गगन–विश्व समूह नेपाली कांग्रेसको आधिकारिक पक्ष
काठमाडौं, ३ माघ — निर्वाचन आयोगले शुक्रबार राति नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेसँगै गगन–विश्व समूह पार्टीको आधिकारिक पक्ष बनेको छ। एक आयुक्तको फरक मतका बाबजुद आयोगले बहुमतका आधारमा नेपाली कांग्रेसको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको हो।
कांग्रेसको अभिलेख अद्यावधिक गर्ने निर्णयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त सगुनशम्सेर जबराको समर्थन रहेको थियो भने पुरानै अभिलेख कायम हुनुपर्ने भन्दै आयुक्त डा. जानकी तुलाधरले फरक राय लेखेकी छन्।
निर्वाचन आयोगले भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनलाई नेपाली कांग्रेसको विधानसम्मत महाधिवेशन ठहर गरेको छ। विधानअनुसार ४० प्रतिशतभन्दा बढी प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन डाक्न बाध्यकारी हुने उल्लेख गर्दै आयोगले कांग्रेसको सर्वोच्च निकायबाट भएको निर्णयको विवरण अभिलेखमा अद्यावधिक गर्ने निर्णय लिएको हो।
विधानले तोकेको तीन महिनाको अवधिभित्रै विशेष महाधिवेशन डाकिएको भन्दै आयोगले देउवा पक्षले पेस गरेको कागजातको समेत समीक्षा गरेको जनाएको छ। देउवा समूहले करिब आठ सय प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको दाबी गरेको भए पनि महाधिवेशनमा हस्ताक्षरसहित सहभागी भई निर्णय प्रक्रियामा संलग्न भइसकेपछि फिर्ता गरिएका निवेदन मान्य नहुने निष्कर्ष आयोगले निकालेको छ। यद्यपि आयोगले हालसम्म निर्णयको औपचारिक विवरण सार्वजनिक गरेको छैन।
निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै देउवा समूह सर्वोच्च अदालत जाने तयारीमा रहेको छ। यसअघि नै सडक आन्दोलनको चेतावनी दिएका देउवा समूहका नेता पूर्णबहादुर खड्काले आयोगको निर्णयविरुद्ध अदालत जाने बताएका थिए।
आयोगको निर्णयको प्रमाणित प्रति प्राप्त भएपछि देउवा समूहले उक्त निर्णय खारेज गरी आफूलाई आधिकारिकता दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेको बताइएको छ।
निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठाएको देउवा समूह छिटोमा आइतबारसम्म सर्वोच्च अदालत पुग्ने सम्भावना छ। शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्रै रिट दर्ता हुने देखिन्छ। तर सोमबार पनि सार्वजनिक बिदा भएकाले प्रारम्भिक सुनुवाइ मंगलबार मात्रै हुने सम्भावना रहेको छ।
संयोगवश ६ माघ मंगलबार नै देशभर प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको दिन तय गरिएको छ। सो दिन बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु हुनेछ। यदि रिट निवेदन दर्ता भई छिटो अघि बढेमा मंगलबार बिहान ११ बजेदेखि सुनुवाइ हुनसक्ने सम्भावना देखिएको छ। यस अवस्थामा मनोनयन र रिट निवेदनको सुनुवाइ एकैसाथ अघि बढ्ने सम्भावना पनि रहेको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गरिसकेकाले आफ्नै निर्णयबाट देउवा समूहलाई दल दर्ताको समय दिँदै निर्वाचन तालिका सार्ने सम्भावना न्यून देखिन्छ। अदालतबाट स्पष्ट आदेश आएमा मात्रै आयोग बाध्यकारी अवस्थामा पुग्नेछ।
अधिकारिकता पाएपछि कांग्रेस सभापति गगन थापाले देउवा समूहलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए। तर हालको अवस्थामा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने देउवा पक्षका नेताहरूका लागि स्वतन्त्र उम्मेदवारी नै एकमात्र विकल्प देखिएको छ।
निर्वाचन तालिका यथावत् रहेर स्वतन्त्र उम्मेदवारी दिने अवस्था नबनेमा कांग्रेसबाट टिकट नपाउने देउवा पक्षका नेताहरू यसपटक प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिने सम्भावना रहेको छ।