बाजुराको गौमुलमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट
बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान आगलागी हुँदा एक घर पूर्ण रूपमा नष्ट भएको छ। बिहान करिब ६ बजे गौमुल गाउँपालिका–२ कुहुडामा ३० वर्षीय विष्णु रोकायाको खरले छाएको घरमा विद्युत् तार सट भई आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार आगलागीको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। आगलागीबाट खरले छाएको तीनतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा लगायतका सामग्री जलेर नष्ट हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। हाल प्रहरी टोलीले घटनास्थलमा पुगेर क्षतिको विस्तृत विवरण सङ्कलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।