लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय जनजीवन प्रभावित
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध भएको छ। दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राविधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरिया र मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्चित भएका हुन्।
लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाका अनुसार विद्युत अभावका कारण रातिको समयमा उज्यालोको समस्या, घरायसी कामकाज, विद्यार्थीको पठनपाठन तथा वडा कार्यालयको सेवा प्रवाहमा कठिनाइ भइरहेको छ। मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवासमेत प्रभावित बनेको छ।
साविक लुलाङ गाविसमा करिब ३ सय ७० घरपरिवारले उक्त लघुजलविद्युत परियोजनाको विद्युत उपभोग गर्दै आएका थिए। गत जेठ महिनामा लुलाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगे पनि लघुजलविद्युत प्रयोग हुँदै आएको थियो। लघुजलविद्युतकै भर परेकाले धेरै स्थानीयले घरमा मिटर बक्स जडान र वायरिङ नगरेको जनाइएको छ।
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा पुगेपछि लघुजलविद्युत परियोजना मर्मतका लागि सरकारको आर्थिक कार्यविधीले बजेट उपलब्ध नगराउने भएकाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी मिटर बक्स जडान गरेर विद्युत विस्तारमा पहल गरिएको जानकारी दिए।
दरखोला लघुजलविद्युत परियोजनामा पटक–पटक समस्या आउने भएकाले दीर्घकालीन समाधानका लागि केन्द्रीय प्रसारण लाइनको विद्युत जोड्न प्राथमिकता दिइएको उपाध्यक्ष पुनले बताए। गत जेठमै केन्द्रीय लाइन पुगे पनि हालसम्म खोरियास्थित नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन बाहेक अन्य प्रयोजनमा प्रयोग हुन सकेको छैन।