जाडोयाममा जोखिम समूहलाई अत्यधिक चिसोमा बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
१९ पुस, काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै जाडोयाम सुरु भएसँगै यी समूहहरूमा स्वास्थ्य जोखिम बढी हुने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरेको हो। चिसोका कारण उत्पन्न हुन सक्ने रोग तथा लक्षणलाई न्यूनीकरण गर्न धुवाँ–धुलोबाट बच्न, न्यानो लुगा लगाउन र सरसफाइमा ध्यान दिन मन्त्रालयले सुझाव दिएको छ।
त्यसैगरी, पोषणयुक्त सन्तुलित भोजन गर्न, भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने मौसमअनुसारका ताजा फलफूल तथा सागपात खान र प्रशस्त मात्रामा झोल पदार्थ सेवन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार जाडोयाममा तापक्रम सामान्यभन्दा कम हुँदा विभिन्न क्षेत्रमा शीतलहर, हुस्सु, कुहिरो तथा हिमपातका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ। यस समयमा रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्ग (हाइपोथर्मिया) का लक्षण देखिने बिरामीको संख्या बढ्ने गरेको मन्त्रालयले जनाएको छ।
पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कलगायत अंगहरूमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिम र मृत्युदर समेत बढाउने गरेको मन्त्रालयको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले चिसोका कारण स्वास्थ्य समस्या देखिए वा अवस्था जटिल बन्दै गएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ। साथै आगो तथा ताप्ने उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुत्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुम बाहिर जडान गर्न समेत अनुरोध गरेको छ।