मादुरोको अवस्था अज्ञात रहेको भेनेजुएलाको दाबी, ट्रम्पको गिरफ्तारी दाबीपछि अन्योल
१९ पुस, काठमाडौं — भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई उनकी पत्नी सीलिया फ्लोरेससहित पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेपछि उपराष्ट्रपति रोड्रिग्जको भनाइ सार्वजनिक भएको हो।
उनले भनिन्, “सरकारलाई राष्ट्रपति मादुरो र फर्स्ट लेडी सीलिया फ्लोरेसको अवस्थाबारे कुनै जानकारी छैन।”
बीबीसीका अनुसार उपराष्ट्रपति रोड्रिग्जले राष्ट्रपति मादुरो जीवित रहेको प्रमाण सार्वजनिक गर्न माग गर्दै हाल उनको अवस्था अज्ञात रहेको बताएकी छन्।
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा अमेरिकाले भेनेजुएला र उसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो स्तरको आक्रमण सफलतापूर्वक गरेको दाबी गरेका थिए। उनले मादुरोलाई उनकी पत्नीका साथ पक्राउ गरी देशबाहिर लगिएको उल्लेख गरेका थिए।
राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए। उनले एक वक्तव्यमार्फत अमेरिकी सैन्य आक्रमणको कडा निन्दा गरेका थिए।