बुद्ध एयरको जहाज दुर्घटनामा चालक दलका एकसहित सात जना घाइते
१९ पुस, झापा — भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ विमान दुर्घटनामा पर्दा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।
काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर–७२ जहाज शुक्रबार राति ९ः१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी तथा माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए।
उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना विमान इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ र अन्य छ जना यात्रु घाइते भएका छन्।
घाइते यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी तथा काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेका छन्।
घाइतेहरूलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै उद्धार गरी भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पुर्याएको थियो। टाउको र अनुहारमा चोट लागेका को–पाइलट सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन्।
उक्त जहाज शुक्रबार राति ८ः२३ बजे काठमाडौंबाट भद्रपुरका लागि उडेको थियो। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारमा खटिएको थियो। प्रहरीले सबै यात्रुलाई सकुशल जहाजबाट बाहिर निकालेर उपचारका लागि अस्पताल पुर्याएको जनाएको छ।