विश्वकप तयारीमा नेपाल, आज एमसीए प्रेसिडेन्ट ११ सँग पहिलो अभ्यास खेल
१५ माघ, काठमाडौँ । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले आज भारतको मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग पहिलो अभ्यास टी–२० खेल खेल्दैछ।
नेपाल र एमसीए प्रेसिडेन्ट ११ बीचको अभ्यास खेल साँझ सवा ६ बजेदेखि मुम्बईको सीसीआई मैदानमा सुरु हुनेछ। आजको खेलपछि नेपालले शनिबार एमसीए प्रेसिडेन्ट ११ सँग दोस्रो अभ्यास खेल पनि खेल्नेछ।
भारत आउनुअघि नेपाली टोलीले श्रीलंकामा गएर श्रीलंका ‘ए’ टोलीसँग तीन अभ्यास खेल खेलेको थियो। तीमध्ये पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा जित हात पारेको थियो।
एमसीए प्रेसिडेन्ट ११ सँगका अभ्यास खेलपछि नेपालले विश्वकपअघि यूएई र क्यानडासँग वार्मअप खेल खेल्नेछ। नेपालले यूएईसँग फेब्रुअरी ३ को साँझ ५:१५ बजे र क्यानडासँग फेब्रुअरी ५ को दिउँसो सवा १ बजे अभ्यास खेल खेल्ने कार्यक्रम छ। दुवै खेल चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा हुनेछन्।
आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। नेपालले विश्वकपको पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ।
त्यसपछि नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग समूह चरणका खेल खेल्ने तालिका रहेको छ।