विशेष महाधिवेशन पक्षधरद्वारा देउवा र खड्कालाई निमन्त्रणा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधर समूहले औपचारिक निमन्त्रणा पठाएको छ। देउवालाई प्रमुख अतिथि र खड्कालाई विशिष्ट अतिथिका रूपमा आतिथ्यता ग्रहण गर्न आग्रह गरिएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिएको छ। पार्टीभित्र देखिएको विवाद र संगठनात्मक विषयमा छलफल गर्ने उद्देश्यसहित विशेष महाधिवेशनको तयारी गरिएको आयोजक पक्षको भनाइ छ।
तर, उक्त विशेष महाधिवेशनलाई नेपाली कांग्रेसको संस्थापन समूह र डा. शेखर कोइराला नेतृत्वको इतर समूहले मान्यता नदिएको जनाएका छन्। दुवै समूहले पार्टी विधान र प्रक्रियाबाहिर गएर महाधिवेशन आह्वान गरिएको दाबी गर्दै असहमति व्यक्त गरेका छन्।
पार्टीभित्र फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई पठाइएको निमन्त्रणाले कांग्रेसको आन्तरिक राजनीतिलाई थप चासोको विषय बनाएको छ।