निर्वाचन गठबन्धनबारे कांग्रेसभित्र असन्तुष्टि, महामन्त्री विश्वप्रकाश शर्माको कडा आपत्ति
१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने विषयमा भइरहेको छलफलप्रति कडा आपत्ति जनाएका छन्।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले गोदावरी महासमितिले आगामी चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिसकेको स्मरण गराउँदै त्यसविपरीत भइरहेको गतिविधिप्रति असहमति जनाए। उनले एमालेसँग गठबन्धन गर्ने ‘भुमिगत तयारी’ भइरहेको आरोपसमेत लगाए।
‘आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने गोदावरी महासमितिको निर्णय थियो,’ शर्माले भने, ‘तर अहिले एमालेसँग गठबन्धन गर्ने तयारी भइरहेको संकेत देखिन्छ। यसमा मेरो पूर्ण असहमति छ। महासमितिको निर्णयविपरीत कदम चाल्नु आत्मघाती हुनेछ।’
महामन्त्री शर्माले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णय सर्वसम्मतिले गरिएको भए पनि पुनर्स्थापनाको पक्षमा सांसदहरूलाई हस्ताक्षर गराउन किन लगाइयो भन्ने प्रश्नसमेत उठाए। ‘निर्वाचनमा जाने निर्णय सर्वसम्मतिले गरेका थियौँ, तर पुनर्स्थापनामा हस्ताक्षर गर्न किन भनियो ? यो कसले गरायो र किन हुन दिइयो ?’ उनले बैठकमा प्रश्न गरे।
त्यस्तै, उनले पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे पनि गम्भीर आपत्ति जनाए। मतदाताको रुचिअनुसार उम्मेदवार चयनबारे छलफल भइरहेको बेला ६०/४० को भागबन्डा मिलाउन मध्यरातमा टेलिफोन आएको दाबी गरे।
‘समानुपातिक सूची तयार पार्दा मतदाताको रुचि के हो भन्ने छलफल हुँदै थियो,’ शर्माले भने, ‘तर एकाएक ६०/४० को भागबन्डाका लागि टेलिफोन आयो। यो गम्भीर गल्ती थियो। सूची सच्याउन जरुरी छ र अवसर अरूलाई दिनुपर्छ।’
महामन्त्री शर्माले आफूहरू कांग्रेसबाट अलग हुन वा पार्टी फुटाउन खोजेको नभई सिंगो कांग्रेसको नेतृत्व गर्न चाहेको स्पष्ट पारे। ‘दृढतापूर्वक भन्छु—हामी नेतृत्व गर्नेछौँ,’ उनले भने, ‘कांग्रेस छोडेर जान्छन् या फुटाउँछन् भन्ने कसैले नसोचून्। हामी पर्खिन्छौँ पनि, फर्किन्छौँ पनि।’