भेनेजुएलाका राष्ट्रपति मादुरोको अवस्था अझै अज्ञात
१९ पुस, काराकास — भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ। अमेरिकाले शनिबार बिहानै राजधानी काराकाससहित विभिन्न स्थानमा आक्रमण गरेयता मादुरो बेपत्ता भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई उनकी पत्नीसहित पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “मदुरोलाई पक्राउ गरी देशबाहिर लगाइएको छ। यो अमेरिकी कानून प्रवर्तनसँग समन्वयमा गरिएको कारबाही हो। थप विवरण पछि आउनेछन्।” अमेरिकी समय अनुसार शनिबार ट्रम्प पत्रकार सम्मेलनमार्फत घटनाबारे थप जानकारी दिने बताइएको छ।
भेनेजुएलाले अमेरिकी सेनाले शहरका आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोत परिचालन गर्ने घोषणा गरेको छ। रक्षामन्त्री भ्लादिमिर प्याड्रिनो लोपेजले अमेरिकी आक्रमणलाई ‘अपवित्र हस्तक्षेप’को रूपमा वर्णन गर्दै, देशको सार्वभौम रक्षाका लागि स्थलसेना, वायुसेना, नौसेना र मिसाइल क्षमताको प्रयोग गरिने बताएका छन्।
यूटा राज्यका सिनेटर माइक लीका अनुसार अमेरिकी अधिकारीहरूले मादुरोलाई संयुक्त राज्य अमेरिकामा आपराधिक आरोपमा मुद्दा चलाउन पक्राउ गरिएको हो। ह्वाइट हाउसले मादुरो र उनकी पत्नी कहाँ लगिएको हो भन्नेबारे तत्काल जानकारी दिएको छैन।
अमेरिकी आक्रमणका क्रममा भेनेजुएलाका सैन्य शिविर र राजधानी वरपरका क्षेत्रमा क्षति पुगेको छ। राजधानी काराकासमा बिहान २ बजे विस्फोटनको आवाज सुनिएको र हवाई आक्रमणका कारण केही क्षेत्र बिजुलीविहीन भएका छन्।
रक्षामन्त्री लोपेजले अमेरिकी आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको भन्दै कडा शब्दमा निन्दा गरेका छन्।