पृथ्वीराजमार्गमा स्कुटर दुर्घटना, एक युवतीको मृत्यु
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो।
दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन्। उनको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू पोखराबाट दमौलीतर्फ आउँदै गर्दा दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।