पर्सामा कर्फ्यूको समय थप, मंगलबार दिउँसो १ बजेसम्म लागू
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यूको समय थप गरेको छ। प्रशासनले मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
यसअघि सोमबार बेलुका ६ बजेदेखि मंगलबार बिहानसम्म कर्फ्यू लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले उत्पन्न विवादको समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिएका छन्।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ। कर्फ्यू अवधिमा तोकिएको सीमाभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने व्यवस्था गरिएको छ।
प्रशासनका अनुसार पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न निषेध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालले कर्फ्यूका बेला सुरक्षाकर्मीले कडा कारबाही गर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेका छन्। अत्यावश्यक अवस्थामा बाहिर निस्कनुपरे नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कन आग्रह गरिएको छ।
कर्फ्यू अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट गरेको छ।