एमाले सचिवालय बैठक आज, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंग्याइँदै
३ माघ, काठमाडौं — नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन बैठक बोलाइएको हो।
पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सचिवालय बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ।
निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले त्यसअघि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको नेताहरूले बताएका छन्।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी तथा प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। ती सिफारिसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अघि बढाइएको बताइएको छ।
हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नका उम्मेदवार अघि बढाउने जनाएको छ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंग्याउने जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो। प्रतिनिधिसभा निर्वाचनको मतदान २१ फागुनमा हुने कार्यतालिका रहेको छ।