मधेशमा धार्मिक सद्भाव कायम गर्न सात आयोगको संयुक्त आग्रह
२१ पुस, काठमाडौँ । मधेशका विभिन्न जिल्लामा धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्न सात वटा आयोगले संयुक्त रूपमा आग्रह गरेका छन्।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै आयोगहरूले सबै धार्मिक सम्प्रदायबीच सद्भाव, मैत्री र आपसी सम्मान कायम गर्न आह्वान गरेका हुन्। विज्ञप्तिमा नेपाली समाज सदियौँदेखि विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म र सम्प्रदायबीच आपसी सहिष्णुता र सम्मानका साथ एक–आपसमा मिलेर बस्दै आएको उल्लेख गरिएको छ।
‘नेपाली समाज आपसी सद्भाव, सहिष्णुता र एकअर्काप्रति सम्मान कायम गर्दै विकसित भएको समाज हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर पछिल्लो समय तराई–मधेशका केही स्थानहरूमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि देखिएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’
यस्ता गतिविधिले सामाजिक एकता र शान्तिमा असर पार्न सक्ने भन्दै आयोगहरूले सबै सरोकारवाला पक्षलाई संयम अपनाउन र धार्मिक सम्प्रदायबीच आपसी सद्भाव तथा मैत्री कायम गर्न संयुक्त रूपमा हार्दिक अपील गरेका छन्।