काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको निधन
काठमाडौं — तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको हिजो निधन भएको छ।
लामो समयदेखि पक्षघातका कारण घरमै उपचाररत रहेका सिंहको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको पार्थिव शरीरको आज टेकुस्थित जम्बुदीपमा अन्त्येष्टि गरिएको छ।
वि.सं. २००२ साल श्रावणमा जन्मिएका सिंह २०२८ सालमा काठमाडौँको तत्कालीन वडा नं. ८ (हालको वडा नं. २२)बाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। त्यतिबेला काठमाडौँ नगर पञ्चायतमा २९ वटा वडा रहेका थिए र वडाध्यक्षहरूमध्येबाट प्रधानपञ्च चयन गर्ने व्यवस्था रहेको थियो।
वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार सोही व्यवस्थाअनुसार सिंह २०३० सालदेखि दुई वर्षका लागि काठमाडौँ नगर पञ्चायतको प्रधानपञ्च चयन भएका थिए।
“त्यसबेला वडाबाट निर्वाचित अध्यक्षहरूकै बीचबाट प्रधानपञ्च चयन गर्ने व्यवस्था थियो,” महर्जनले जानकारी दिए।
स्वर्गीय सिंहका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन्।