काठमाडौँमा ‘ट्राफिक सप्ताह’ सम्पन्न: सडक सुरक्षा र जनचेतना बढाउने अभियान
काठमाडौं । काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमप्रति नागरिकलाई सचेत गराउने उद्देश्यका साथ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजना गरिएको ‘ट्राफिक सप्ताह’ विभिन्न सांस्कृतिक कार्यक्रमसहित आज सम्पन्न भएको छ।
‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित सात दिनसम्म सञ्चालन भएको विशेष अभियानको समापन काठमाडौँ–२६ ठमेलमा गरिएको थियो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अभियानका दौरान सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार, सडक नाटक, सांस्कृतिक प्रस्तुति, रक्तदान, सवारी चालक प्रशिक्षण र आँखा शिविर लगायतका कार्यक्रमहरू सञ्चालन भएका थिए।
समापन कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भने, “चालक, यात्रु र पैदलयात्री सबै जिम्मेवार बनेमा सवारी दुर्घटना न्यूनीकरण सम्भव छ। नागरिकले सचेत भई नियम पालना गरेमा मात्र सडक सुरक्षित हुन्छ।” उनले पैदलयात्रीहरूले सुरक्षित स्थानमा मात्र सडक पार गर्ने र सबैले ट्राफिक नियम पालन गर्ने कुरामा जोड दिए।
उक्त अवसरमा ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अभियानमार्फत हजारौँ नागरिकलाई ट्राफिक नियमबारे सचेत गराइएको जानकारी दिए। समापन कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले ट्राफिक सचेतनासम्बन्धी सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे।
ट्राफिक सप्ताह अभियानले काठमाडौँ उपत्यकामा सडक सुरक्षा र जनचेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।