रास्वपाले काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठको एकल सिफारिस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर ८ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विराजभक्त श्रेष्ठको एकल सिफारिस गरेको छ ।
पार्टीको आज बसेको काठमाडौं क्षेत्र नम्बर ८ क्षेत्रीय समितिको बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको नेता महेन्द्र शर्माले जानकारी दिए ।
श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेताका रूपमा रहेका थिए । पार्टी सभापति रवि लामिछाने कारागार चलान भएपछि उनले संसदीय दलको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
श्रेष्ठ २०७४ सालको निर्वाचनमा समानुपातिक प्रणालीमार्फत विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सभा सदस्य बनेका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ८ मा विजयी भएका थिए ।
२०७९ को निर्वाचनमा श्रेष्ठले अभियन्ता सुमन सायमीसँग प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचनमा श्रेष्ठले १० हजार १०५ मत ल्याउँदै विजय हासिल गरेका थिए भने सायमीले लौरो चुनाव चिन्हबाट ५ हजार ८७९ मत प्राप्त गरेका थिए ।
काठमाडौं क्षेत्र नम्बर ८ मा राम्रो राजनीतिक पकड बनाएका श्रेष्ठले यसपटक पनि जीत हासिल गर्ने रास्वपाको आकलन छ । यसअघि श्रेष्ठसँग प्रतिस्पर्धा गरेका सायमीलाई राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौं क्षेत्र नम्बर ८ र ९ बाट सिफारिस गरिसकेको छ । श्रेष्ठ ८ बाट सिफारिस भएपछि सायमी ९ बाट चुनावी मैदानमा उत्रन सक्ने चर्चा चलिरहेको छ ।
यता प्रमुख दल नेपाली कांग्रेसले यसअघि नै सपनाराज भण्डारी जोशीलाई काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ ।