नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ
काठमाडौँ । नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ गरेको छ।
नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ निवासी २८ वर्षीय गौरीशंकर यादव र फेटा गाउँपालिका–३ निवासी २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले श्रीवास्तवलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिनलगायत सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
यसअघि केही दिनअघि प्रहरीले गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेल चोकबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो। ती व्यक्तिहरूमाथि भइरहेको अनुसन्धानका क्रममा थप दुई जनाको संलग्नता खुलेपछि यादव र श्रीवास्तवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई काठमाडौँ प्रहरीले आज सार्वजनिक गरेको हो।
प्रहरी अनुसन्धानअनुसार श्रीवास्तवले भारतको मोतिहारीस्थित लाला टोलको पतौनामा डेरा लिएर नक्कली नोट छाप्ने कार्य गर्दै आएको खुलेको छ। उनले नेपालमै नक्कली नोट छाप्ने उद्देश्यले आवश्यक सामग्री भित्र्याएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
प्रहरीले श्रीवास्तवको साथबाट भारतीय रुपैयाँ ५०० दरका ३१७ थान नक्कली नोट, एक थान मोनिटर, एक थान रङ्गीन प्रिन्टरलगायत विभिन्न उपकरण बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।