टिकटक विवादमा मधेशमा तनाव, धनुषा–पर्सामा सुरक्षा सतर्क
२० पुस, जनकपुरधाम — टिकटकमा अभद्र धार्मिक टिप्पणी सार्वजनिक भएपछि मधेश प्रदेशमा तनाव बढेको छ। धनुषा र पर्सासहित आठै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ।
केही दिनअघि जनकपुरका हैदर अन्सारी र अमानत अन्सारीले हिन्दुस्तानको नाम लिँदै धार्मिक भावनामा आघात पुर्याउने खालको भिडियो पोष्ट गरेका थिए। स्थानीय अगुवाहरूले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए।
पक्राउको क्रममा केही युवाहरू आक्रोशित भएका थिए भने मस्जिदमा आक्रमणसमेत भएको थियो। घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिएका छन्।
वीरगञ्जमा पनि आज बिहानैदेखि घटनाको विरोधमा प्रदर्शन भइरहेका छन्।