केपी ओलीले मानवअधिकार आयोगमा साढे दुई घण्टा दिए बयान
काठमाडौँ, २० पुस ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर बयान दिएका छन् ।
आयोगकी सदस्य लिली थापाका अनुसार ओलीसँग साढे दुई घण्टा समय लगाएर बयान लिइएको हो । “पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आयोगको कार्यालयमै उपस्थित भएर आज बयान दिनु भयो,” थापाले भनिन्, “अढाइ घण्टासम्म बसेर उहाँले बयान दिनु भयो।”
उनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ओली कार्यकारी प्रमुख तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षको भूमिकामा रहेकाले त्यस अवधिमा गरेका कामकारबाहीबारे केन्द्रित भएर प्रश्नोत्तर गरिएको थियो ।
“कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतमा जेनजी आन्दोलनका बेला कस्तो भूमिका निर्वाह गर्नुभयो भन्ने विषयमा प्रश्न गरिएको हो,” थापाले भनिन्, “आयोगले तयार पारेका ३५ वटा प्रश्नको उहाँले जवाफ दिनुभयो।”
आयोगले दिउँसो ४ बजेदेखि साँझ ६:३० बजेसम्म कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षका रूपमा गर्नुपर्ने कर्तव्य, जिम्मेवारी र भूमिकासम्बन्धी विषयमा बयान लिएको जनाएको छ ।
यसैबीच, ओलीले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष पनि आजै लिखित बयान दिएका छन् । बयानका लागि आयोगको टोली ओलीको निवास गुण्डु पुगेको थियो ।