आज काठमाडौंका विभिन्न स्थानमा तीन घण्टा बिजुली कटौती
३ माघ, काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा अस्थायी रूपमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र मातहतका क्षेत्रमा प्राविधिक कार्यका कारण बिजुली आपूर्ति बन्द गरिनेछ।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शीतल निवास आसपासको वितरण प्रणाली भूमिगत गर्ने काम भइरहेको छ। सोही क्रममा भूमिगत कार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले आज बिजुली कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।
सूचना अनुसार पानीपोखरी फिडरअन्तर्गत साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानीपोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ।
त्यस्तै राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्र तथा बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका स्थानहरूमा पनि सोही समयसम्म बिजुली आपूर्ति बन्द रहनेछ।
प्राधिकरणले बिजुली कटौतीका कारण पर्न सक्ने असुविधाप्रति उपभोक्तासँग क्षमा मागेको छ। तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा बिजुली आपूर्ति समयभन्दा पहिल्यै सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ।