माधवकुमार नेपाल अस्पताल भर्ना, रुघा–खोकी र ज्वरोको समस्या
१५ माघ, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। त्यहाँ क्याबिन उपलब्ध नभएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
अस्पताल स्रोतका अनुसार नेता नेपाललाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो हुने (घ्यार–घ्यार) समस्या देखिएको छ। उनको उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकको टोलीले गरिरहेको छ।
‘टिचिङ अस्पतालमा क्याबिन नपाएपछि मनमोहन सेन्टरमा राखेर उपचार गरिएको हो। उपचार भने त्रिविकै छातीरोग विभागका चिकित्सकले गरिरहनुभएको छ,’ अस्पताल स्रोतले जनाएको छ।
बिहीबार बिहान नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य नेताहरू अस्पताल पुगेका थिए।
यसैबीच, त्रिवि शिक्षण अस्पतालको भीआईपी क्याबिन नम्बर ६०१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि भर्ना रहेका छन्।