उपत्यकाका खोला किनार २० मिटर मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं । उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ। सर्वोच्च अदालतले थप २० मिटर खाली ठाउँ छाड्नुपर्ने भनी गरेको फैसलाविरुद्ध सरोकारवालाहरूले विरोध प्रदर्शन गरेका हुन्।
यसअघि पनि सरोकारवालाहरूले फैसलाको पुनरावलोकन माग गर्दै पटक–पटक प्रदर्शन गरिसकेका छन्। हाल कायम २० मिटर मापदण्डमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला विरोधको केन्द्रमा रहेको छ।
सरोकारवालाहरूले सर्वोच्चको फैसलालाई गैरन्यायिक र गैरसंवैधानिक भन्दै आलोचना गरेका छन्। भूमि अधिकार संरक्षण समितिलगायत सरोकारवालाहरूले उक्त फैसलामा हस्ताक्षर गर्ने न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन पनि माग गरेका थिए।
सरकारले पनि उक्त फैसला कार्यान्वयन गर्न नसकिने भन्दै तत्कालीन कानून सचिव फणीन्द्र गौतममार्फत फैसला पुनरावलोकनको निवेदन दर्ता गरिसकेको छ।