ओलीको स्पष्टीकरण: ‘आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको प्रचार निराधार’
काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको घटनाबारे स्पष्टिकरण दिँदै तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने प्रचार पूर्ण रूपमा गलत र निराधार भएको बताएका छन्।
केही दिनयता सामाजिक सञ्जाल र सार्वजनिक बहसमा आफूले गोली चलाउन आदेश दिएको आरोप लगाइँदै आएको उल्लेख गर्दै ओलीले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई त्यस्तो आदेश दिने अधिकार नदिएको र आफूले न त्यस्तो आदेश दिएको न दिने सोच नै गर्न सक्ने बताएका छन्।
जेन–जी आन्दोलनका क्रममा भएको उक्त घटनापछि तत्कालै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गराउँदै उनले भदौ २३ गते ज्यान गुमाएका १९ जना बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
ओलीका अनुसार घुसपैठको सम्भावना देखिएपछि सुरुमा माइतीघर मण्डलमा प्रदर्शन रोक्ने निर्णय गरिएको थियो। तर शान्तिपूर्ण सभाको अनुमति मागिएपछि प्रशासनले सहजै स्वीकृति दिएको उनले बताए। उनका अनुसार बिहान सुरु भएको जेन–जीको प्रदर्शन शान्तिपूर्ण रूपमा अघि बढेको थियो र उक्त क्रममा न गोली चलेको थियो न लाठीचार्ज नै गरिएको थियो।
तर करिब मध्यान्हतिर घुसपैठकारी समूहले प्रदर्शनकारी युवाहरूलाई निषेधित क्षेत्रतर्फ लैजान थालेको ओलीको दाबी छ। आयोजकहरूले पटक–पटक घुसपैठ भएको भन्दै घर फर्किन आग्रह गरे पनि योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका विद्यार्थीलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजेको उनले बताएका छन्।
संसद् भवनअगाडि आगजनीको प्रयास र विस्फोटक पदार्थ प्रयोग भएपछि त्यस अवस्थालाई ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको आक्रमण’ मानिने कानुनी व्यवस्था रहेको ओलीको भनाइ छ। संसद् भवनभित्र सुरक्षाफौजमाथि प्रत्यक्ष आक्रमण भएपछि मात्र गोली चलेको र त्यसपछिका घटनाले सबैलाई गहिरो पीडा दिएको उनले बताए।
ओलीले सुरक्षाकर्मीहरूले सरकारको आदेश होइन, कानुनको सपथ लिने स्पष्ट पार्दै उक्त दिन पनि सरकारको आदेशमा गोली नचलेको दोहोर्याए। माइतीघरको शान्तिपूर्ण प्रदर्शनदेखि वानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै पनि बल प्रयोग नभएको उनको भनाइ छ।
सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारमा नलाग्न आग्रह गर्दै ओलीले १९ जना बालबालिकाको मृत्युबाट आफू अत्यन्त मर्माहत रहेको बताएका छन्। साथै, भदौ २३ गते माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट युवाहरूलाई संसद् भवनजस्तो संवेदनशील स्थानतर्फ कसले, किन र कसरी लग्यो भन्ने प्रश्नको निष्पक्ष जवाफ खोजिनुपर्नेमा उनले जोड दिएका छन्।